साफ महिला फुटबलमा सहभागी प्रत्येक खेलाडीलाई रु. एक लाख पुरस्कार

विराटनगर, चैत्र १० ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौँ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीहरूलाई रु. एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
एन्फाको शनिबार साँझ सम्पन्न १८ औँ वार्षिक साधारण सभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गरेका हुन् । यसअघि, पाँचौँ साफ फुटबल खेल्ने खेलाडीहरूलाई प्रदेश सरकारले रु. एक लाख तथा विराटनगर महानगरपालिकाले रु. ५० हजार प्रदान गर्ने निर्णय गरिसकेको छ ।
यसैगरी, एन्फाले आर्थिक वर्ष २०७५/०७६ का लागि रु. २३ करोड ७४ लाख ५० हजारको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फुटबल सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग प्राप्त भएकोमा धन्यवाद दिँदै प्रदेश नं.–१ मा आगामी दिनमा मुख्यमन्त्री आमन्त्रण फुटबल तथा १० देखि १२ वर्ष उमेरका महिलाका लागि फुटबल प्रशिक्षण कार्यक्रम चाँडै सञ्चालन गर्ने जानकारीसमेत गराएका छन् ।
उनले प्रदेश सरकारको सहयोग प्राप्त भए विराटनगरमा महिला फुटबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने आश्वासनसमेत दिए । विराटनगरको शहीद रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै त्यसको संरक्षण गर्ने जिम्मेवारी सबैको काँधमा आएको उनको भनाई थियो ।
साफ महिला फुटबल सम्पन्न गर्न विराटनगर महानगरपालिकाबाट रु. एक करोड २० लाख र प्रदेश सरकारबाट रु. ५० लाख भौतिक पूर्वाधारका लागि प्राप्त भएको र सोही शीर्षकमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साफ खेलकुदबाट प्रतियोगिता सम्पन्न गर्न रु. एक करोड ६५ लाख प्राप्त हुने विश्वास गरिएको छ ।
पत्रकार सम्मेलनमा साफ महिला फुटबलसम्बन्धी सम्पूर्ण खर्च तथा आम्दानी आगामी एक हप्ताभित्र सार्वजनिक गरिने प्रवक्ता राईले जानकारी दिए । यस्तै एन्फाले खेलकुद पत्रकारिताका लागि तीन दिने प्रशिक्षण कार्यक्रम गर्ने अध्यक्ष शेर्पाले बताए ।
यसैगरी, खोटाङ, नवलपुर र मनाङ जिल्लाका फुटबल सङ्घलाई आगामी एक वर्षका लागि पर्यवेक्षकका रूपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय साधारण सभाले गरेको छ ।
प्रतिक्रिया