बैशाख अन्तिममा चिनीको मूल्य नियन्त्रण हुने साल्ट ट्रेडिङको दाबी
काठमाडौं, बैशाख १३ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बैशाखभित्रै पाँच हजार टन चिनी खरिद गरेर बजार मूल्य नियन्त्रण गर्ने जनाएको छ । साल्ट ट्रेडिङसँग चिनीको मौज्दात अभाव भएपछि बजारमा चिनीको मूल्य आकाशिएको भन्दै बैशाख अन्तिममा नै चिनी खरिद गरेर प्रतिकिलो ८० रुपैयाँमा बिक्री गर्ने साल्ट ट्रेडिङले बताएको हो ।
निजीस्तरबाट आयात भएको चिनी अहिले बजारमा प्रतिकिलो एक सय रुपैयाँसम्म बिक्री वितरण हुँदै आएको छ । प्रतिस्पर्धाको अभावले मूल्य बढेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए । साल्ट ट्रेडिङ बजारमा चिनीको मूल्य बढ्ने संकेत देखिएकाले नै एक प्रतिशत भन्सार शुल्कमा ५० हजार मेट्रिक टन चिनी आयातको लागि आपूर्ति मन्त्रालयसँग अनुमति माग गरेको थियो ।
सरकारले ३० हजार मेट्रिक टनका लागि मात्रै अनुमति दिएको हो । अनुमतिपश्चात खरिद प्रक्रिया अपनाइसकिएको राजभण्डारीले जानकारी दिए । गत वर्ष पनि ३० हजार मेट्रिक टन मात्रै चिनी आयात गरेको साल्ट ट्रेडिङले यो वर्ष नेपाली उत्पादनलाई हेरेर बढी आयत गर्न चाहेको बताएको छ ।
साल्ट ट्रेडिङले चिनी उत्पादकले कर्पोरेसनसँग स्टक नभएको मौका छोप्दै मूल्य बढाएपछि सरकारले एक प्रतिशत भन्सारमा चिनी आयत गर्न दिने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै कर्पोरेसनले बैशाखभित्रै पाँच हजार टन चिनी ल्याउने तयारी गरेको हो । चिनी खरिद प्रक्रियाअन्तर्गत ग्लोबल टेन्डरपछि मूल्यांकन काम पनि सकिएको साल्ट ट्रडिङको भनाइ छ ।
आयात भएको चिनी प्रतिकिलो ८० रुपैयाँभन्दा बढी नपर्ने राजभण्डारीले जानकारी दिए । नेपाली बजारको वार्षिक माग दुई लाख २५ हजार मेट्रिक टन रहेको छ । त्यसमा पनि नेपालको चिनी खपत मौसमी रहेको छ । कुनै महिना अत्यधिक आवश्यक पर्ने र कुनै महिना सामान्य खपत हुने गर्छ । असोज र कात्तिक अत्यधिक चिनी खपत हुने गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको तथ्याकले देखाएको छ । त्यसैगरी बैशाख, माघ र फागुन महिनामा पनि अत्यधिक चिनी खपत हुने गरेको देखिन्छ । विशेषगरी विवाहको सिजनमा चिनीको माग बढी हुने गरेको साल्ट ट्रेडिङले बताएको छ । यसकारण नेपाली चिनी उत्पादन भएर बजारमा आउन नभ्याउँदै अभाव हुने देखिन्छ । साल्ट ट्रेडिङले आगामी दशैं तिहारसम्म ३० हजार मेट्रिक टन चिनी सकिइसक्ने समेत बताएको छ । त्यस बेलासम्म पुनः खरिद प्रक्रिया अपनाउनुपर्ने बताएको छ । भन्सार छुट नदिइए उपभोक्ता मारमा पर्ने उसको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य प्रतिमेट्रिक टन करिब सात सय डलर रहेको छ । उक्त चिनी नेपाली बजारमा आइपुग्दा प्रतिकिलो करिब ८० रुपैयाँ प्रतिकिलो पर्न आउने साल्ट ट्रेडिङले जनाएको छ । केही समयपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने सम्भावना पनि देखिएको छ । पहिलो लटको चिनी आयातमा मूल्य नबढ्ने समेत देखिएको छ । पछि खरिद गर्दा मूल्यवृद्धि भएर नेपालमा चिनी भित्रिए ९० रुपैयाँ प्रतिकिलो नघट्ने साल्ट ट्रेडिङको भनाइ छ ।
प्रतिक्रिया