वरिष्ठ कलाकार सुभद्रा अधिकारीकाे ७३ वर्षकाे उमेरमा निधन, आजै दाहसंस्कार गरियाे

काठमाडाैं, श्रावण ३२ ।
नेपाली र नेपालभाषा चलचित्रमा समेत आफ्नाे छुट्टै पहिचान बनाउन सफल वरिष्ठ कलाकार सुभद्रा अधिकारीको आज बिहान करिब ८ बजे ७३ वर्षकाे उमेरमा निधन भएको छ । उनी आफ्नै निवास काठमाडाैंकाे डल्लुमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका हुन् । उनी लामो समयदेखि दमले ग्रस्त थिइन् ।
वि. सं. २००३ सालमा काठमाडौंको असनमा जन्मेकी स्वर्गीय अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेपालभाषाकाे नाटक ‘कचिमचा’ अर्थात काँचो माटो बाट उनको अभिनय यात्रा सुरु भएको थियो ।
उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको थियाे । अधिकारीको आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएकाे छ । उनको श्रद्धाञ्जली तथा अन्त्येष्टी आज १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा गरिएकाे थियाे ।
अन्त्येष्टीमा वरिष्ठ कलाकारहरूलगायत सयाैँकाे संख्यामा सर्वसाधारणहरूकाे भीड लागेकाे थियाे ।
प्रतिक्रिया