मच्छिन्द्रनाथलाई पुल्चाेकबाट तानेर साेह्र खुट्टेपाटी पुर्याइयाे (फाेटाेफिचर र भिडियाे)

ललितपुर, भाद्र २१ ।
वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रख्यात एवं नेपालकै सबैभन्दा लामाे जात्राकाे रूपमा परिचित राताे मच्छिन्द्रनाथकाे रथलाई आज पुल्चोकबाट तानेर ल्याएर पुल्चाेकस्थित अशाेक स्तुपास्थित सोह्र खुट्टेपाटीसम्म तानिएको छ ।
जात्रा छोटो बनाउने सहमतिअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेर सीमित व्यक्तिको सहभागितामा रथ तानिएको हो । गाःबहालमा राखिएको मीननाथको रथ पनि आजै सोह्र खुट्टेपाटीसम्म पुर्याइएको छ । याेसँगै रथलाई सांकेतिक रूपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज छ्वय्लाभु र भोलि सोमबार भुज्या मनाउने छन् ।
यसअघि जुन ठाउँमा रथ राखिएको हाे सोही ठाउँका बासिन्दाले मात्र छ्वय्लाभु र भुज्या मनाउने परम्परा थियो । यसपाली सांकेतिक रूपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिएको छ । जात्राका अवसरमा पाटनबासीलाई घरमा कसैलाई पनि नखःत्या अर्थात् भोज नबोलाउन र नजान पनि आग्रह गरिएको छ ।
भाेलि सोमबार मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ । साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती लगेसँगै यसपटककाे जात्रा सम्पन्न हुनेछ । विगतमा चार दिनमा पुल्चोकबाट तानेर गाः बहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याएर भोटो जात्रा गरिन्थ्यो । जावलाखेलमा भोटो देखाएपछि मूर्तिलाई बुङ्गमती लगिएसँगै जात्रा सम्पन्न हुन्थ्यो । यस वर्ष भने भोटो जात्रा पनि नगरिने भएको छ ।
प्रतिक्रिया