यमपञ्चककाे तेश्राे दिन आज काठमाडाैंमा लक्ष्मी पूजा, ललितपुरमा म्ह पूजा गरी मनाइँदै

काठमाडाैं, कार्तिक ३० ।
यमपञ्चक अर्थात् तिहारको तेश्राे दिन आज गाई, गोबर्द्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनि सम्मान गरिन्छ ।
गाईको पूजा गरी आजका दिन मिठा–मिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रही आएकाे छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।
यसैगरी, आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोबर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।
द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोबर्द्धन पर्वत उचाली गोकुलबासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोबर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मिठा–मिठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि पूजा गर्ने गरिन्छ ।
यसैबीच, ललितपुरबासीहरूले हिजाे बिहान कुकुर पूजा गरी कुकुर तिहार मनाइएकाे छ भने बेलुका लक्ष्मी भित्र्याई लक्ष्मी पूजा गरी मनाएका छन् । आज ललितपुर र भक्तपुरमा म्ह पूजा अर्थात् आफ्नाे शरीरलाई पूजा गरी म्ह पूजा गर्ने भएका छन् ।
प्रतिक्रिया