रातो मच्छिन्द्रनाथको मेला सुरु, बुधबार रथ तान्दै

ललितपुर, बैशाख १९ ।
काठमाडौं उपत्यकाको मात्र नभई नेपालकै सबैभन्दा लामो जात्राको रूपमा परिचित एवं अन्न, वर्षा र सहकालका देवता भनेर चिनिे रातो मच्छिन्द्रनाथको रथ जात्रा सुरु हुने भएको छ । ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा आइतबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै दर्शनार्थीको भीडसमेत लागेको छ । अहिले पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइँचो लागेको छ । दर्शनार्थीको भीड बढेसँगै पुल्चोक हुँदै चल्ने गाडीलाई डाइभर्सन गरिएको छ ।
जावलाखेल–पुल्चोक हुँदै चल्ने गाडीलाई झम्सिखेलबाट डाइभर्सन गरी कानदेवता थान निस्कने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गाःबहालसम्म नतानेसम्म नै पुल्चोकमा भक्तजनको भीड लाग्ने गर्छ ।
रथलाई पर्सि २१ गते बुधबार पुल्चोकबाट गाःबहाल तानिनेछ । मच्छिन्द्रनाथको जात्रा कोरोना भाइरसको महामारीका कारण अघिल्ला दुई वर्ष साङ्केतिक रूपमा मात्र गरिएको थियो भने यस वर्ष विगतमा झैँ रथलाई पाटनको विभिन्न ठाउँमा तानेर सञ्चालन गर्न लागिएको हो ।
प्रतिक्रिया