राष्ट्रपति भण्डारी श्रीलङ्कामा

काठमाडौं, बैशाख ३० ।
राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा आज थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बो आइपुगेका छन् ।
राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलङ्काका न्याय तथा बुद्धशासनमन्त्री डा. विजयदास राजपक्ष, वैदेशिक रोजगारमन्त्री थालथा अथुकोराला र उपविदेशमन्त्री डा. हर्ष डेसिल्भा तथा श्रीलङ्काका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिले स्वागत गरेका छन् ।
त्यसअघि विमानबाट ओर्लिएलगत्तै पञ्चकन्याबाट फूलको गुच्छा प्रदान गरी राष्टपति भण्डारीलाई स्वागत गरिएको थियो । विमानस्थलमा श्रीलङ्काका लागि नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलले पनि उनलाई स्वागत गरेका थिए ।
बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्र सङ्घीय बैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् । यही बैशाख २९ गते श्रीलङ्काको राजधानी कोलम्बोमा सुरु भएको सो सम्मेलनको समापन बैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ ।
सन् २००० देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रूपमा मनाउन सुरु गरेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यानमालगायतले बैशाख दिवसका रूपमा मनाउँदै आएका छन् । श्रीलङ्काले तीन दिनसम्म सो सम्बन्धी विशेष सम्मेलन गरिरहेको छ ।
श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया