निर्धक्क भएर मतदान गर्न मन्त्री थापाको आह्वान

काठमाडौं, बैशाख ३१ ।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अाज हुने स्थानीय तहको मतदानमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् । कांग्रेसको प्रचारप्रसार उपसमितिका सहसंयोजक रहेका नेता थापाले अाज सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन मतदान गर्ने अधिकारको पूर्ण सदुपयोग गर्न पनि आम मतदातामा आह्वान गरे ।
कुनै पार्टीका कार्यकर्ताले बाणिज्यमन्त्री रोमी गौचन थकाली र आफ्ना बारेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मिथ्या आरोप लगाएको सम्बन्धमा स्पष्ट पार्दै नेता थापाले भने – “निर्वाचन आयोगको निर्णयअनुसार तोकिएको समयमा मन्त्रीहरूले तोकिएबमोजिमको मात्रै काम गरेको हो ।”
स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भने, “मौन अवधिमा मन्त्रीहरूले पनि सरकारी सुविधाको प्रयोग नगरी अन्य नेताहरू जस्तै अनौपचारिक भेटघाट र छलफल गर्न पाउने अधिकार निर्वाचन आयोगले दिएको हो ।” आफूहरूमाथी लागेको आरोप पुष्टि गर्न चुनौती दिँदै उनले आचारसंहिता विपरीत आफूहरूमाथी हुलहुज्जत भएको भनेर कांग्रेसले नै त्यस्ता व्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी गरेको जानकारी दिए ।
“आफूहरूकोतर्फबाट कुनै आचारसंहिता उल्लङ्घन भएको भए जुनसुकै कारबाही सामना गर्न तयार छौँ” – उनले भने । निर्वाचन परिणामको पूर्वानुमानका आधारमा हतास र निराश मानसिकतामा रहेका दलका कार्यकर्ताले आज बिहान काठमाडौंको कपनमा आफूमाथी दुव्र्यवहार गरेको उनको टिप्पणी थियो ।
उनले आज हुने मतदानमा कसैबाट पनि प्रभावित नभई मतदान गर्न र कुनै पनि पार्टीका साथीहरूलाई संयमता नगुमाउनसमेत आग्रह गरेका छन् ।
प्रतिक्रिया