दोस्रो चरणको निर्वाचनका लागि प्रधानमन्त्री र राजपाका नेताहरूबीच छलफल

काठमाडौं, जेठ १ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरूबीच दोस्रो चरणको निर्वाचनका लागि केन्द्रित रहेर छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई दुई तिहाइ मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालय श्रोतले जनाएको छ ।
बैठकमा नेताहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साहपूर्ण ढङ्गले सम्पन्न भएकामा सन्तोष व्यक्त गर्दै दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नुअघि दलहरूबीच आवश्यक सहमति र सहकार्यका बारेमा छलफल भएको थियो ।
राजपाका नेताहरूले आफूहरूको पूर्व धारणाअनुरूप दोस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने माग राखेका थिए ।
बैठकमा राजपा नेपालका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव सहभागी भएका थिए ।
प्रतिक्रिया