नागरिकता विधेयक फिर्तापछि तरुण दलद्वारा राष्ट्रपति भण्डारीको राजीनामा माग
काठमाडौं, श्रावण ३० ।
सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । संसद्बाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतबार पुनः संसदमै फिर्ता पठाएकोले तरुण दलले राजीनामा माग गरेको हो ।
विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणबिना प्रतिनिधि सभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘नागरिकताविहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भत्र्सना गर्दछ,’ अध्यक्ष गुरुङले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूतसमेत गर्न संसद् र सरकारसँग तरुण दल केन्द्रीय समिति आग्रह गर्दछ ।’
प्रतिक्रिया