केपी ओलीको यस्तो खतरनाक घोषणा

काठमाडौं, ३ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले चितवनको दासढुंगामा २४ वर्षअघि भएको मदन भण्डारी र जीवराज आश्रतिको हत्याको रहस्य पत्ता लाग्ने बताएका छन् । ओलीले राजपरिवार बंश सखाप हुने गरी भएको दरबार हत्याकाण्डको पनि रहस्य पत्ता लाग्ने दाबी गरेका छन् ।
एमालेको पुरानो पार्टी कार्यालय रहेको स्थान मदननगर बल्खुमा बुधबार २४ औं मदन ९आश्रति स्मृति दिवसमा बोल्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षडयन्त्रपूर्ण हत्याका रूपमा चित्रित गरे । एमालेविरुद्ध ठूल्ठुला षडयन्त्रहरु हुने गरेको भन्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्डलाई त्यसैको सिलसिलाका रूपमा व्याख्या गरे ।
ओलीले भने, ‘मदन आश्रति हत्याकाण्ड, दरबार हत्याकाण्ड, जस्ता ठूला षडयन्त्रको रहस्य पत्ता लाग्न समय लाग्छ । तर, पत्ता लाग्छ ।’ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो ।
पोखराबाट गाडीमा चितवनतर्फ जाँदै गर्दा भण्डारी र आश्रति चढेको गाडी त्रिशुली नदीमा खसेको थियो । आफ्ना नेताहरुको निधन दुर्घटनाबाट नभई षडयन्त्रबाट गरिएको भन्दै त्यसबेला एमालेले आन्दोलन गरेको थियो ।
तर, विभिन्न छानविनहरुले सो घटनालाई दुर्घटना मानेपछि एमालेले अहिले २४ वर्ष बित्दासम्म यो प्रकरणबारे कुनै अनुन्धान अघि बढाएको छैन । यसवीचमा सरकार पुग्दा पनि एमालेले दासढुंगा काण्डबारे बोलेको थिएन । तर, एमाले अध्यक्ष ओलीले बुधबार दासढुंगा काण्डलाई पुनः ठूला शक्तिले गराएको षडयन्त्रमूलक हत्याकाण्डको संज्ञा दिँदै यसको रहस्य पत्ता लगाउने उदघोष गरेका हुन् । बुधबार २४ औं मदन स्मृति दिवस मनाइरहँदा मदनपत्नी राष्ट्रपति विद्यादेवी भण्डारी विदेशमा छिन् ।
एमालेले दरबार हत्याकाण्डको फाइल खोल्ला ?
दासढुंगा काण्डको ८ वर्षपछि २०५८ साल जेठ १९ गते राति भएको दरबार हत्याकाण्ड पनि अहिलेसम्म रहस्यकै गर्भमा छ । नारायणहिटी दरबारमा मध्यरातमा भएको गोलीकाण्डमा वीरेन्द्र राजाको बंश नाश भएको थियो । त्यसबेला पोखरामा रहेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले ७ वर्षसम्म राजगद्दी सम्हालेपछि देशमा गणतन्त्र आयो ।
तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको भनिए पनि जनमानसमा यो घटनालाई अहिलेसम्म षडयन्त्रकै रूपमा हेर्ने गरिएको छ । यही क्रममा बुधबार एमाले अध्यक्ष केपी ओलीले समेत दरबार हत्याकाण्डलाई पनि दासढुंगा काण्डजस्तै षडयन्त्रमूलक हत्याकाण्डको कोटीमा राखेर व्याख्या गरे ।
के अब नेकपा एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पायो भने दासढुंगा काण्ड र दरबार हत्याकाण्डको फाइल खोल्ला रु कि यो विषय प्रत्येक वर्षको जेठ ३ गते वा जेठ १९ गते भन्ने कुरा मात्रै हो रु यो हेर्न बाँकी छ । (स्रोत : अनलाइन खबर)
प्रतिक्रिया