मतपत्रको ढाँचा परिमार्जन गर्न पर्यवेक्षकको सुझाव

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार १६:२२


काठमाडौं, जेठ ३ ।
गत बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा पर्यवेक्षणमा संलग्न विभिन्न संस्थाले आगामी निर्वाचनमा मतपत्रको विद्यमान ढाँचालाई परिमार्जन गर्दै मतदातामैत्री बनाउन सुझाव दिएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) ले आज विज्ञप्ति जारी गरी उम्मेदवार नभएको दलको वा व्यक्तिको चुनाव चिन्ह मतपत्रबाट हटाउन सुझाव दिएको छ ।

गत बैशाख ३१ मा भएको पहिलो चरणको स्थानीय निर्वाचनको मतगणना प्रक्तिया अत्यन्त झन्झटिलो, पट्यारलाग्दो एवम् समय, स्रोत खर्चिलो देखिएकाले अविलम्ब वैकल्पिक व्यावहारिक विधि अबलम्बन गरी द्रुतगतिमा मतगणनाको नतिजा प्रकाशन गर्ने व्यवस्थामा मिलाउन पनि ती संस्थाले आग्रह गरेका छन् । ठूलो मतपत्रका कारण गणनामा ढिलाइ भइरहेको छ ।

यस्तै, आगामी दोस्रो चरणको स्थानीय तहलगायत अन्य निर्वाचन निर्भयपूर्वक सञ्चालन गर्न सुरक्षा संवेदनशील क्षेत्रको आँकलन गरी विशेष सुरक्षा व्यवस्था मिलाउन, महिला, ज्येष्ठ नागरिकलगायत अन्य विशेष आवश्यकता भएका मतदाताको निम्ति सुरक्षा, सहजता एवम् संवेदनशीलताको दृष्टिकोणले मतदानस्थलमा आवश्यक सुविधाको प्रबन्ध मिलाएकै देखिए तापनि यसलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने सो विज्ञप्तिमा जनाइएको छ ।

नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, जियोकका अध्यक्ष हिमालयशमशेर जबरा र सङ्कल्पका अध्यक्ष दुर्गा सोबले जारी गरेको विज्ञप्तिमा मतदाता शिक्षालाई प्रभावित बनाउन अशिक्षित मतदातालाई लक्षित गर्न गैसस, सञ्चार माध्यम, पेसागत, शैक्षिक र प्राज्ञिक तथा निर्वाचनसँग सम्बन्धित संस्थालाई प्रोत्साहित गरिएमा बढी प्रभावकारी हुने पनि सुझाव दिइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बेगनास तालमा बेपत्ता भएका राजेश श्रेष्ठ मृत अवस्थामा फेला

काठमाडाैं, जेठ २६ । पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता गोरखाका राजेश श्रेष्ठ.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....