मन्थली-काठमाडाैंकाे यातायात आज बिहानदेखि पुनः अवरुद्ध

काठमाडाैं, असाेज १९ ।
लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित रूपमा सुचारु भएको मन्थली-काठमाडौं यातायात आज शनिबार बिहानदेखि अवरुद्ध भएको छ ।
दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोलानजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारी साधन आवागमन अवरुद्ध बनेको हो ।
मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक-काठमाडौंसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रूपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौं आवत जावत गर्ने गरी बाटो खुलाइएको थियो ।
बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुङ्गाका विभिन्न भागबाट काठमाडौं जाने र तीनै स्थानका लागि काठमाडौंबाट छुटेका मालबाहक र यात्रुबाहक सवारी साधन रोकिएका छन् । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया