नेपाल प्रहरीको डीएसपी भन्दै छ लाख ठगी अभियोगमा काठमाडौंबाट दुई पक्राउ

काठमाडाैं, जेठ २८ ।
नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै छ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली-८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका-४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।
‘नेपाल प्रहरीको डीएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर रु. छ लाख ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा निजहरूलाई पक्राउ गरिएको हो,’ उनले भने ।
पक्राउ परेकामध्ये ज्ञानबहादुर वि.सं. २०७० फागुन २० गते हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाँय भुक्तान गरेको, सार्वजनिक अपराध कसुरमा र वि.सं. २०६७ कात्तिक ४ गते जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता बोहराले बताएका छन् ।
प्रतिक्रिया