गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं, असोज २१ ।
गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच यही असोज २० गते आइतबारका दिन आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्न लागेको कूल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कूल रकम २२,५०,००,००० (अक्षरेपी – बाइस करोड पचास लाख रुपैयाँ मात्र) बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ ।
गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भई २०८० भाद्र १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा (Portfolio Management Services – PMS), निक्षेप सदस्य (Depository Participant – डीम्याट तथा मेरो शेयर खातासम्बन्धी) तथा धितोपत्र अण्डर राइटिङ सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रबर्द्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढाउने जानकारीसमेत गराएको छ ।
गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको लागि अन्य व्यावसायिक साझेदारी सम्झौताहरूमार्फत् नवीनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया