नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड-आधारित विप्रेषण सेवाका लागि समझदारी
काठमाडौं, असोज २१ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज (प्रा.) लि. (हाम्रो पात्रो) बीच कार्ड-आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज सोमबार नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इञ्जिनियरिङ म्यानेजर सुरज गौतमले एक कार्यक्रमकाबीच समझदारी पत्र (एमओयू) मा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
दुई कम्पनीबीच भएको सम्झौताअनुसार, नबिल बैंकले कार्डमा-आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ । नेपाल बाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने छन् । जसअन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिटेन्स पठाउन सकिनेछ ।
यस सेवाअन्तर्गत, प्रयोगकर्ताहरूले न्यूनतम यूएस डलर १०० देखि अधिकतम ५ हजार डलरसम्म पठाउन सक्नेछन् । नबिल बैंककाअनुसार रेमिटेन्स प्राप्त कर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन् ।
नबिल बैंकले २०२२ डिसेम्बरदेखि आफ्नो एनबैंक एपमार्फत् एनरेमिट सेवा दिँदै आएको छ । यो सेवाको पहिलो पटक तेश्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो । “यो बैंकिङ्ग सेवाको लागि एउटा कोशेढुङ्गा हो, किनकि यसले देशमा खुला बैंकिङ्गको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ,” नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा एनबैंकका नायब महाप्रबन्धक, आदर्श बजगाईँले भने ।
यस सम्झौतामार्फत् दुबै संस्थाहरूले देशमा विप्रेषण प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेका छन् । यसबाट नेपाली बैंकिङ्ग क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नबिल बैंकले आफ्नो एनबैंक एपमार्फत् एनरेमिट सेवा दिँदै आएको थियो । स्मार्ट आइडियाज (प्रा.) लि.ले नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूमा पनि लोकप्रिय एप हाम्रो पात्रो सञ्चालन गरेको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २ सय ६८ वटा शाखा र ३ सय १७ वटा एटीएम मेसिनमार्फत् सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ्ग विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया