बडा दशैँकाे टीका लगाउने क्रम आज पनि जारी, दुर्गा भवानीकाे मूर्ति विसर्जन

प्रकाशित मिति: २७ आश्विन २०८१, आईतवार ०८:२८


काठमाडाैं, असाेज २७ ।
आज आइतबार आश्विन शुक्ल पक्षको एकादशी । बडा दशैँको टीका लगाउने क्रम आइतबार पनि जारी नै रहेकाे छ । आइतबार ५१ घडी ६ पला एकादशी तिथि परेकाे छ ।

बडा दशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजया दशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परासमेत रही आएकाे छ ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्त कहाँ जाने गर्छन् । टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाता कहाँ टीका लगाउन जाने चलन छ । यो क्रम पूर्णिमासम्म नै जारी रहने छ ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुनेछ ।

यसैबीच, विजया दशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । बाँकेकाे शहर बजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ ।

ट्रक, ट्याक्टरलगायत सवारी साधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाचगान गर्दै मूर्ति सेलाउने गरिएको दुर्गा पूजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।

घटस्थापनाको दिनदेखि स्थापना गरिएका मूर्तिको नौ दिनसम्म विशेष पूजापाठ गरी दशैँको भोलिपल्ट अर्थात् आज सेलाइने परम्परा रहेको पण्डित शिवप्रसाद पाठकले बताए । उनकाअनुसार नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पूर्णाहुती गरी पूजापाठ सकिन्छ ।

मूर्ति विसर्जन कार्यक्रमलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढाले आज बिहान १० बजेदेखि नै मूर्ति विर्सजन हुने रुटलगायत जिल्लाभरी सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिँदै उनले बाँकेमा करिब छ सय दुर्गा मूर्ति विसर्जन गरिने अनुमान रहेको बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....