भक्तपुरका २८ वर्षीय पुरुषले आफ्नै पेटमा चक्कु प्रहार, उपचारकाे क्रममा मृत्यु

काठमाडाैं, असाेज २९ ।
दाङमा आफैँले पेटमा चक्कु प्रहार गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
भक्तपुरको नगरकोट नगरपालिका-१४ का २८ वर्षीय अनिल तामाङको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
तामाङले आज मंगलबार बिहान साढे ९ बजे आफ्नै पेटमा छुरा प्रहार गरेपछि उपचारका लागि तुलसीपुर लगिएको थियो । पौने ११ बजेतिर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
अनिल असोज २३ गते दाङको बबई गाउँपालिका-४ हापुरे गएका थिए । अनिलका बुबा, दाजु र बहिनीलगायत परिवारका सदस्यले हापुरे बजारमा डोल्मा होटल सञ्चालन गर्दै आएका छन् ।
अनिलले बिहानै मदिरा सेवन गरी बुबा सोमार तामाङसँग झगडा गरेपछि आफ्नै पेटमा छुरा हानेका थिए । प्रहरीकाअनुसार अनिलले सम्पत्तिको विषयमा बुबा सोमारसँग यसअघि पनि पटक-पटक विवाद भएको थियो ।
प्रहरीले छोराको उपचारका लागि आएका बुबा सोमारलाई तुलसीपुरबाट र अनिलका ३१ वर्षीय दाजु पूर्णलाई हापुरेस्थित होटेलबाट नियन्त्रणमा लिएको छ । उनीहरूसँग घटनाबारे सोधपुछ भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया