सवारी दुर्घटना गराई फरार चालक ललितपुर कोपुण्डोलबाट पक्राउ

काठमाडाैं, असाेज ३० ।
सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका-१ कोपुण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका-१७ घर भई हाल कोपुण्डोल बस्ने ४० वर्षीय निरज बिष्टलाई पक्राउ गरेको हो । निजका साथबाट बा. ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
यही असोज २६ गते साँझ काठमाडौं महानगरपालिका-३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका-२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौं मेडिकल कलेज पुर्याइ फरार भएका प्रहरीले जनाएको छ । निजको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया