डडेल्धुरामा भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ११ घाइते

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार १४:०४


काठमाडाैं, असाेज ३० ।
डडेल्धुरामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ ।

घटनास्थलमा बसको छतमुनि च्यापिएकाे अवस्थामा थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच जना पुगेको हो ।

बैतडीको पुर्चौंडी नगरपालिका-१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

उनकाअनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बुधबार बिहान ११ बजेतिर मात्रै फेला परेको हो ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना. ८ ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका-७ खसरेखानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौंडी-३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् ।

बस सडकबाट करिब तीन सय मिटर तल खसेर पोखरा-बेलापुर सडकमा परेको छ । दुर्घटनाका कारण भने खुल्न सकेको छैन ।

दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशङ्कामा प्रहरीले खोजी कार्यलाई जारी नै राखेको छ । स्थानीय सर्वसाधारण र प्रहरीले खोजतलास जारी राखेका छन् । दुर्घटनाग्रस्त बस क्षतविक्षत भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....