काठमाडाैं महानगरका दुई वटा डाेजर प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं, असाेज ३० ।
काठमाडौं महानगरका दुई वटा डोजरलाई नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । पशुपतिस्थित गौशाला धर्मशाला भत्काउन पठाइएका डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुबै डोजर गौशाला प्रहरी कार्यालयमा राखिएका छन् ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)का प्रमुख स्वकीय भूपदेव साहले धर्मशाला भत्काउन प्रहरीले नदिएको बताए ।
‘महानगरको दुई वटा डोजर गएको थियो तर, धर्मशाला भत्काउन प्रहरीले दिएन । डोजरलाई नियन्त्रणमा लिएर फिर्ता पठायो’, उनले भने, ‘गौशाला प्रहरी कार्यालयमा राख्ने भनेको थियो । हामीले नजिकै वडा कार्यालय भएकाले त्यहाँ लैजाने भनेका छौँ ।’
पशुपति गौशाला धर्मशालामा काठमाडौं महानगरपालिकाले गत असोज २३ गते आफ्नो बोर्ड राखेको थियो ।
महानगरले उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि महानगर प्रहरी र वडा नम्बर-८ का अध्यक्ष आशमान संगतलगायतको टोली त्यहाँ पुगेर बोर्ड राखेको थियो ।
उक्त धर्मशाला महानगरपालिकाले सञ्चालन गर्ने सम्झौता भएसँगै कार्यविधिको मस्यौदामाथि छलफल थालिएको छ ।
प्रतिक्रिया