माउण्टेन फ्लाइटका लागि उडेकाे ३५ यात्रु सवार बुद्ध एयरकाे जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

काठमाडाैं, कार्तिक १ ।
आज बिहीबार बिहान माउण्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।
बिहीबार बिहान साढे ६ बजे बुद्ध एयरको उडान नम्बर १०० नाइन एन एजेएस जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएको हो ।
‘इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरी काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ । हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन्,’ बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।
बिहान साढे ६ बजे माउण्टेन प्लाइटका लागि उडेको जहाज करिब १५ मिनेटपछि सुरक्षित अवतरण गरेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिएका छन् ।
‘आजको माउण्टेन फ्लाइटमा प्रतिकूल मौसमको कारण हिमालका चुचुराहरू पनि देखिएका थिएनन्,’ प्रवक्ता कर्णले भने, ‘हिमाल नै नदेखिएपछि काठमाडौं फर्किंदै गर्दा जहाजकाे दायाँ इन्जिनको इन्डिकेटरमा केही संकेत देखिएको थियो । माउण्टेन फ्लाइटको क्रममा नभएर हिमाल नदेखिएपछि काठमाडौं फर्किंने क्रममा जहाजको इन्जिनमा पनि समस्या रहेको देखिएको हो ।’
कर्णले जहाजमा ३५ यात्रु सवार रहेको जानकारी दिए । ती यात्रुलाई अर्को दिन आजकै भाडामा पुनः माउण्टेन फ्ल्याइट गराइने उनले बताए । ‘अर्को माउण्टेन फ्लाइटमा जान नचाहने यात्रुको पैसा हामी फिर्ता गर्छौं,’ प्रवक्ता कर्णले भने ।
प्रतिक्रिया