विश्व लगानीकर्ता सप्ताह-२०२४ अन्तर्गत प्रभु क्यापिटलद्वारा प्रशिक्षण सञ्चालन
काठमाडौं, कार्तिक ११ ।
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले दुई दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । प्रभु क्यापिटलले आयोजना गरेको उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यावसायी तथा अन्य पेशागत कर्मचारीहरूलाई यहीँ २०८१ कार्तिक ८ गते बिहीबार र कार्तिक ९ गते शुक्रबारका दिन सम्पन्न गरेको छ ।
दुई कलेजमा करिब ९० जना विद्यार्थी, शिक्षक, व्यावसायी तथा अन्य पेशागत कर्मचारीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको प्रशिक्षकका रूपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए । कार्यक्रममा पूँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापनसम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु पूर्व ध्यान दिनु पर्ने कुराहरू, बजारमा उपलब्ध लगानीका उपकरणहरू तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पारेका थिए । साथै लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग – आस्बा, सिआस्बा, मेरो शेयर एपको तथा आईपीओ भर्दा ध्यान पुर्याउनु पर्ने सजगताका बारेमा प्रकाश पारेका थिए । साथै पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाईदा तथा जोखिमसम्बन्धी विषयहरू पनि समेटिएको थियो ।
कार्यक्रमका सहभागी सदस्यहरूले विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहीत जोखिम, पोर्टफोलियो विविधीकरण, र प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता विषयमा विस्तृत ढङ्गले प्रकाश पारेको हुनाले उक्त तालिम निकै उपयोगी रहेको तथा शेयर बजारसम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए । प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरू, विविध वर्कशप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह International Organization of Securities Commission (IOSCO) को आव्हानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरमा लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाउँदै आइरहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया