वैदेशिक रोजगारको प्रलोभन देखाएर रकम ठगी गर्ने काठमाडौंबाट एक पक्राउ
काठमाडाैं, कार्तिक २४ ।
वैदेशिक रोजगारमा दुबई पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सञ्जीव गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले गुरुङलाई तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो ।
गुरुङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यसैगरी, क्यानडामा अध्ययनरत् विद्यार्थीको कलेज शुल्क भराई दिन्छु भनी ठगी गरेको अभियोगमा पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भई हाल भक्तपुर बस्ने ४३ वर्षीय गोकर्ण पराजुली रहेको प्रहरीले जनाएको छ ।
गोकर्णले पीडितको छोराको कलेज शुल्क बुझाइ दिने भनी सम्पर्क गराई ८ लाख १७ हजार रुपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न गोकर्णलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
प्रतिक्रिया