यूएईमा कार्यरत ४२ वर्षीय एक नेपाली झुण्डिएकाे अवस्थामा मृत फेला

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार १९:०८


एजेन्सी, माघ २१ ।
संयुक्त अरब इमिरेट्स (यूएई)स्थित कम्पनीमा नुवाकाेट घर भएका एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला परेकाे छ ।

जिल्लाको बेलकोटगढी नगरपालिका-१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा कम्पनीमै मृत फेला परेका हुन् । उनी यूएईस्थित फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा कार्यरत रहेका थिए ।

मृतकका भाई हरिहर तिवारीले सोही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत् साे घटनाको जानकारी पाएको बताए । मृतक तिवारी विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए ।

पछिल्लो पटक ८ वर्षदेखि उनी घर आएका थिएनन् । हरिहरकाअनुसार कुबेर घरायसी कारणले नेपाल नआए तापनि परिवारका सदस्य र साथीहरूसँग भने नियमित सम्पर्कमा थिए ।

अन्तिम पटक घटनाको एक साताअघि दाईसँग आफ्नो कुरा भएको हरिहरले बताए । घटनाभन्दा केही दिनअघि उनले गाउँकै एक पुरुष र श्रीमतीका कारण मर्न बाध्य भएको भन्दै भ्वाइस म्यासेज गरेको हरिहर बताउँछन् ।

उनले आफ्नो दाईले आत्महत्या नगरेको र कसैले कर्तव्य गरेको हुन सक्ने आशंका गरे । घटना शंकास्पद रहेको भन्दै मृतकले नाम लिएका व्यक्तिहरूविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिन खोज्दा प्रहरीले इन्कार गरेको उनको भनाई छ ।

बेलकोटगढी-१० का वडाध्यक्ष प्रल्हाद थपलियासहित आफूहरू जाहेरी दिन गएको भए तापनि प्रहरीले नमिल्ने भन्दै फर्काइ दिएको हरिहरले बताए । कम्पनीबाट शव नेपाल पठाइदिने खबर आएको भए पनि घटनाको सत्यतथ्य छानबिन नभई शव नबुझ्ने अडान परिवारको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी दुर्गाराज रेग्मीले मृतकका परिवार उजुरी दिन आएको पुष्टि गरे ।

उनले दुबई प्रहरीको अनुसन्धान रिपोर्ट वा अदालतको आदेश बिना मृतकको अडियोका आधारमा कसैलाई दोषी करार गर्न नसकिने बताए ।

‘१२ वर्षदेखि दुबईमै भएको मान्छेले नेपालमा भएका मानिसका कारण म मर्दैछु भनेको आधारमा मात्र कसैमाथि कारबाही गर्न मिल्दैन’, रेग्मीले भने, ‘दुबई प्रहरीले शवसँगै पोष्टमार्टम र अनुसन्धान रिपोर्ट पनि पठाउँछ । त्यसपछि पनि अनुसन्धान गर्ने समय बाँकी रहन्छ । रिपोर्ट आउन दिनुस् भनेर पठाएको हुँ ।’

जिल्लामा जाहेरी लिन नमानेपछि आफूहरू प्रहरीको साइबर ब्यूरोमा गएको र त्यहाँ पनि जाहेरी लिन नमानेको मृतक परिवारजनले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बेलायतका राजकुमार र श्रीमती आज नेपाल भ्रमणमा आउने, भक्तपुर र पाेखरा घुम्ने कार्यक्रम

काठमाडाैं, माघ २२ । बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित आज मंगलबार नेपाल भ्रमणमा आउने भएका.....