हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव, केही स्थानमा वर्षाकाे सम्भावना
काठमाडाैं, माघ २२ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
आज मंगलबार बिहान सुदूरपश्चिम र कर्णालीसहित गण्डकी प्रदेशको पहाडी भू-भागको मौसम आंशिकदेखि साधारणतया बदली रहेकाे छ ।
तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ । देशको बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेकाे छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा आज हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘आगामी २४ घण्टाको अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । वर्षा र हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
प्रतिक्रिया