रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा पठाउने आदेश

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार १७:३७


काठमाडाैं, माघ २३ ।
साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाउने आदेश भएको छ ।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय पठाइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको मुद्दामा आज बुधबार थुनछेक बहस नसकिएपछि भोलि पुन: बहस हुनेछ । चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणका प्रतिवादी लामिछाने आज बिहान अदालत उपस्थित भएका थिए । आजै उनको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो ।

लामिछानेविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बहस भइरहेको हो । आज सरकारी वकीलहरूले बहस गरेका थिए । थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ ।

सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापाले बहस गर्नेछन् । यता मुद्दाका प्रतिवादी लामिछानेको तर्फबाट १० जना कानून व्यावसायीहरूले बहस गर्ने जनाइएको छ ।

लामिछानेको करिब ४ घण्टा लामो बयान लिइएको थियो ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशील कुमार पन्त र धर्मराज आचार्य र अधिवक्ताहरू डा. नारायण दत्त कडेल,चुडामणी सापकोटा,रामचन्द्र देवकोटा,सुवर्ण सापकोटा, सञ्जय गोले,गोपीलाल देवकोटा,केदारराज पन्त र दिपकराज तिमल्सेनाले वकालतनामा भरेको जनाइएको छ ।

यसैगरी, सहकारी पीडितको तर्फबाट बहस पैरवी गर्न वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएका छन् । लामिछानेविरुद्ध मंगलबार चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम ठगी कसूरमा अदालतमा मुद्दा दर्ता भएको छ ।

साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको हो । चितवन जिल्ला अदालतमा मंगलबार पूरक मुद्दा दर्ता गरिएको हो । साहाराको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री लामिछाने र तत्कालिन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १५ जना पुरकसहित मुद्दा दर्ता भएको हो ।

रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, बिशाल तामाङ, नविन अछामी, कबिता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवति बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।

हाल पुरक अभियोगमा थप १५ सहित जम्मा ३२ जना प्रतिवादी उपर ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १,२ तथा सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३ ९१०९२० ९३० र ५ विपरितको कसुर कायम गरी अभियोग दर्ता भएको चितवन जिल्ला अदालतको सुचना अधिकारी शाखा अधिकृत अमृत बिश्वकर्माले बताए । उनका अनुसार सोहि ऐन बमोजिम र सङ्गठित अपराधमा दफा ९ ( क ) र ( ग) बमोजिम मागदाबी लिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछाने ५४ लाख धराैटी बुझाएर हिरासतबाट रिहा, भने याे प्रसव पीडा हाे

काठमाडाैं, माघ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला.....