रास्वपाका सभापति रवि लामिछानेलाई रु. ५४ लाख धराैटी माग

प्रकाशित मिति: २४ माघ २०८१, बिहीबार १७:२९


काठमाडाैं, माघ २४ ।
साहारा चितवन सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि आज बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको हो । अदालतले माग गरेको धरौटी बुझाए लामिछाने आजै रिहा हुनेछन् । बुधबार बयान सकिए पनि थुनछेक बहस नसकिँदा रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।

यसअघि, बहसका क्रममा सरकारी वकील र जाहेरवालाका कानून व्यावसायीले रविलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका थिए ।

जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र गौतम र सुनिता अधिकारीले बहस गरेका थिए । उनीहरूले रविलाई थुनामै राख्न माग गरेका थिए ।

तर, रविको तर्फबाट बहस गरेका कानून व्यावसायीहरूले भने उनलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए ।

रविको तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारी, धर्मराज आचार्य, सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामचन्द्र देवकोटा र नारायणदत्त कँडेलले बहस गरेका थिए ।

रविमाथि साहारा चितवन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । उक्त सहकारीको १० करोड ८० लाख १ हजार १ सय ५१ रुपैयाँ ६ पैसा गोर्खा मिडियामा प्रवाह गरेको भेटिएको छ । सहकारीको रकम कम्पनीमा लैजानु गैरकानूनी रहेको र यसमा रविसँगै छविलाल जोशी बन्जाडे, जीबी राई र कुमार रम्तेलको संलग्नता रहेको दाबी अभियोग पत्रमा गरिएको छ ।

यस मुद्दाका ३२ जना प्रतिवादीमध्ये १२ जनालाई सहकारी ठगीका साथै संगठित अपराधको कसुरमा पनि मुद्दा चलाइएको छ । रविलाई संगठित अपराधमा मुद्दा नचलाउँदा जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल महान्यायाधिवक्ता कार्यालयको छानबिनमा परेका छन् ।

यस मुद्दाका अन्य अभियुक्तहरूमा अधिकांश फरार छन् । यस चरणको मुद्दामा अदालतमा हाजिर हुने रवि नै पहिलो प्रतिवादी हुन् ।

यसअघि, सहकारी ठगीकै मुद्दामा उनी तीन वटा जिल्ला अदालतबाट पनि धरौटीमै रिहा भएका थिए । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका लामिछानेलाई काठमाडौं अदालतले स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख धरौटी लिएर छाडेको थियो ।

त्यसपछि, बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उनलाई रूपन्देही अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको थियो । यी तीन वटै जिल्लामा गरी उनले २ करोड २५ लाख रुपैयाँ धरौटी यसअघि नै बुझाइसकेका छन् ।

अब पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको ठगी प्रकरणमा पनि उनीमाथि मुद्दा चलाउने तयारी छ । प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याइसकेको छ । कास्की प्रहरीको हिरासतमा छँदा रविसहितका अभियुक्तलाई वीरगञ्ज पुर्‍याएर बयान लिइएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछाने ५४ लाख धराैटी बुझाएर हिरासतबाट रिहा, भने याे प्रसव पीडा हाे

काठमाडाैं, माघ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला.....