आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदै

काठमाडाैं, फागुन ९ ।
आज शुक्रबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रबर्द्धनसम्बन्धी विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारीलाई प्रबर्द्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।
सन् १९९९ को नोभेम्बरमा बंगलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्र संघको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो ।
आज भाषाहरूले विकास, साँस्कृतिक विविधता र अन्तरसाँस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधान कार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र साँस्कृतिक प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाइँदैछ ।
युनेस्कोकाअनुसार उक्त समारोह सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, साँस्कृतिक सम्पदाको संरक्षण गर्ने, दीगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवं बहुभाषिकता र बहुसाँस्कृतिकता प्रबर्द्धनमा केन्द्रित हुनेछ ।
प्रतिक्रिया