ट्रम्प नीतिको डरले ११ वर्षीया आप्रवासी विद्यार्थीद्वारा टेक्सासमा आत्महत्या

एजेन्सी, फागुन ९ ।
अमेरिकाको टेक्सासमा ११ वर्षीया बालिकाले आत्महत्या गरेको एउटा हृदय विदारक घटना सार्वजनिक भएको छ । परिवारको अध्यागमन अवस्थाका कारण विद्यालयमा उनलाई लगातार जिस्काउनने गरेको र स्कूलमा उनका सहपाठीहरूले उनीसँगै उनका आमाबुबालाई अमेरिकाबाट निकालिने र एक्लै छाड्ने धम्की दिएपछि प्रताडित भएर आत्महत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यही मानसिक तनाव र डरका कारण ११ वर्षीया बालिकाले आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचारअनुसार टेक्सास निवासी जोसेलिन रोजो कारान्जा नामकी छात्रा विद्यालयमा लगातार दुर्व्यावहारको सिकार भएकी थिइन् ।
उनको परिवारको अध्यागमन स्थितिका कारण उनको विद्यालयका केही विद्यार्थीहरूले उनलाई उत्पीडन गरेको आरोप छ । छोराछोरीले उनलाई आमाबुबालाई साङ्लोमा बाँधेर देश बाहिर पठाइदिने र एक्लै छाड्ने भन्ने डर देखाइने गरिएको थियो । यही मानसिक यातनाको सिकार बनेर जोस्लिनले ८ फेब्रुअरीमा आत्महत्या गरेकी हुन् ।
जोसेलिनकी आमा मार्बेला कारान्जाले आफ्नी छोरीमाथिको यातनाबारे आफूलाई पूर्व कुनै जानकारी नभएको बताइन् । उनले भनिन्, ‘मेरी छोरीले आफू यति तनावमा छिन् भन्ने कुनै संकेत कहिल्यै दिइनन् । मलाई कहिल्यै थाहा थिएन कि उनलाई स्कूलमा दुर्व्यावहार गरिएको थियो । यस विषयमा छानबिन सुरु भएपछि मात्र जोसेलिनले विद्यालयमा छोरीमाथि निरन्तर दुर्व्यावहार भइरहेको खुलेको थियो । तर विद्यालय प्रशासनले यसबारे कुनै जानकारी परिवारलाई दिएन ।
अहिले जोस्लिनले आत्महत्या गरेपछि विद्यालय प्रशासन नै शंकाको घेरामा परेको छ । विद्यालयलाई यसबारे जानकारी भए पनि कुनै कारबाही नगरेको उनकी आमाको आरोप छ ।
जोस्लिनको अन्त्येष्टि बुधबार मात्रै भएको थियो, जसमा सयौँ मानिसहरूको सहभागिता रहेको थियो । यही क्रममा उनकी साथी रूबेलाले भनिन्, ‘हामी सँगै रुख चढ्ने गर्दथ्यौँ, हाँस्ने गर्दथ्यौँ र हाम्रा हरेक साना-ठूला कुरा साझा गर्थ्यौं । उनी एकदमै असल साथी थिइन् ।’
जोस्लिनको मृत्युले अमेरिकामा बाल बालिकामाथि हुने दुर्व्यावहार र आप्रवासी परिवारमाथि हुने भेदभावको गम्भीरतालाई ऊजागर गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन । यो घटनापछि धेरै संघ संस्थाले विद्यालयमा हुने दुर्व्यावहार रोक्न थप कडा कानून बनाउन सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया