काठमाडौंसहित देशभर वर्षाको सम्भावना

काठमाडाैं, बैशाख ३ ।
हाल देशभर स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज बुधबार बिहान देशभरि बदलीको अवस्था छ ।
वागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । बुधबार मंगलबारको तुलनामा केही कम पानी पर्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनकाअनुसार दिउँसो सबैजसो पहाडी भू-भागहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तराईका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, उच्च पहाडी भू-भागहरूमा हल्का हिमपातको पनि सम्भावना छ ।
काठमाडौंमा आज दिउँसो वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । उनकाअनुसार बिहीबारदेखि अझै बढी पानी पर्ने सम्भावना रहेको छ ।
अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले बिहीबार पहाडी भू-भागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया