साँझदेखि काठमाडाैंसहित विभिन्न प्रदेशमा वर्षाकाे प्रबल सम्भावना, बिहीबारदेखि धेरै स्थानमा वर्षा

काठमाडाैं, बैशाख २ ।
लामो समयपछिको खडेरीपश्चात् केही दिनदेखि वर्षा भइरहेकाे छ । आज मंगलबार पनि काठमाडौं उपत्यकाको आकाश धुम्मिएर गड्याङगुडुङ गरिरहेको छ ।
यसैगरी, कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेकाे छ । आज साँझ काठमाडौं उपत्यकासहित ताप्लेजुङ, ओखलढुङ्गा, जिरी, पोखरालगायतका शहरमा हल्का वर्षा हुने प्रबल सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
अहिले देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मंगलबार र बुधबार वर्षाको सम्भावना कम रहेको तर, बिहीबारदेखि आइतबारसम्म धेरै स्थानमा वर्षा हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
अर्को साता सोमबारदेखि वर्षाको सम्भावना घट्ने भएकाले त्यसपछि मात्रै बाली भित्र्याउन महाशाखाले किसानलाई सुझाएको छ । अहिले देशका तराई र पहाडी भेगहरूमा गहुँ बाली भित्र्याउने बेला भएको छ । त्यस्तै दलहन र तेलहन बाली पनि भित्र्याउने तयारीमा किसान रहेका छन् ।
प्रतिक्रिया