निलम्बित न्यायाधीश भुवन गिरी वैवाहित बलात्कार मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त

काठमाडाैं, बैशाख १ ।
निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारमा मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त भएका छन् ।
आज सोमबार बिहान १० बजेतिर गिरी डिल्लीबजार कारागारबाट छुटेका हुन् । ‘राति अबेर सफाइ पाएको भन्ने फैसलाको कागजात आइपुगेपछि उहाँ आज बिहान छुट्नु भएको हो,’ डिल्लीबजार कारागारका सहायक प्रशासक शेरबहादुर थापाले सञ्चारकर्मीलाई बताएका छन् ।
उच्च अदालत पाटनले आइतबार गिरीलाई वैवाहिक बलात्कारको कसुरबाट सफाइ दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वयहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गिरीलाई सफाइ दिएपछि उनी छुटेका हुन् ।
यसअघि, जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठमा वैवाहिक बलात्कार मुद्दामा गिरीलाई दोषी ठहर गरेसँगै वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।
गिरीलाई उनकै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । त्यसपछि न्याय परिषद्ले उनलाई निलम्बनसमेत गरेको थियो ।
प्रतिक्रिया