काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहानै भूकम्पको धक्का महशुस

काठमाडाैं, बैशाख ३ ।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।
नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ४:०५ बजे गएको हो ।
पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रकाअनुसार मङ्गलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्यााग्निच्युडको भूकम्प गएको थियो ।
गत सोमबार राति ९:३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्यााग्निच्युडको भूकम्प गएको थियो ।
कुशे गाउँपालिकाको पैंकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए नभएको बारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रकाअनुसार गत चैत २१ गते साँझ ( ०८:०७ बजे) र (०८:१० बजे) सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प ५ दशमलव २ म्यााग्निच्युड र दोस्रो ५ दशमलव ५ म्यााग्निच्युडको रहेको थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।
चैत २० गते दार्चुलामा ४ म्यााग्निच्युडको भूकम्प गएको थियो । चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ म्यााग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया