राजधानीका विभिन्न स्थानमा अत्याधुनिक ट्राफिक लाइट जोड्ने तीब्र तयारी

प्रकाशित मिति: १६ पुष २०७३, शनिबार ०६:५८


काठमाडौं, पुस १६
काठमाडौं उपत्यकाको भद्रगोल ट्राफिक व्यवस्थापनको लागि अब चोक चोकमा अत्याधुनिक ट्राफिक लाइट जडान गरिने भएको छ । विश्वका युरोप र अमेरिकीसहित विकसित देशहरूमा प्रयोग भएका लाइट सिस्टममा आधारित आधुनिक ट्राफिक व्यवस्थापनका लागि काठमाडौंमा नयाँ प्रयास गर्न लागिएको हाे ।

यसअघि पनि सडकका चोकचोकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट प्रयोग गरिएको भएतापति ती लाइटहरु विविध कारणले प्रयोगमा नआएपछि नयाँ प्रविधिको लाइट राख्ने तयारी भएको हो ।

काठमाडौं उपत्यका दीगो शहरी यातायात परियोजनाको सडक विभाग एकाइले आधुनिक प्रविधियुक्त नयाँ ट्राफिक लाइट जडान गर्ने कम्पनी छनौटको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

अत्याधुनिक ट्राफिक लाइट राजधानीका कुन ठाउँमा जडान हुन्छ ?

अब काठमाडौंका २६ वटा चोकका ३७ ठाउँमा आधुनिक ट्राफिक लाइटहरू जडान गरिनेछ । काठमाडौंका व्यस्त रहने माइतीघरदेखि तीनकुनेसम्म, राजदरबार दक्षिणढोकादेखि कमलपोखरी हुँदै भद्रकालीसम्म, जयनेपालदेखि थापाथली हुँदै जावलाखेलसम्म र नारायणगोपाल चोकदेखि त्रिपुरेश्वरसम्म ट्राफिक लाइट जडान हुनेछन् ।

‘पुस बटन’ दबाएपछि गाडी रोकिने

यो सिस्टम प्रयोगमा आएपछि पैदलयात्रीका लागि बाटो काट्न निकै सहज हुनेछ । पैदलयात्रीले आफूले बाटो काट्ने अनुमति पाउनका लागि जेब्रा क्रसिङसँगै राखिएका ‘पुस बटन’ थिच्नुपर्छ । यो थिचेको केही समयपछि कन्ट्रोल युनिटले पैदलयात्रीलाई बाटो काट्न अनुमति दिने गरी हरियो बत्ति बाल्नेछ । अब जोडिने ट्राफिक लाइट सिस्टम युरोप, अमेरिकाको जस्तै आधुनिक हुने दाबी काठमाडौं उपत्यका दीगो शहरी यातायात परियोजना छ ।

लाइटहरू एक चोक र अर्को चोकसँग लिंक गरिने

अब जडान गरिने आधुनिक लाइटहरू एक चोक र अर्को चोकसँग लिंक गरिने भएको छ । यसरी लाइटलाई एउटै सिस्टम लिंक गर्दा अघिल्लो चोकबाट जाममा परेर उम्किएका सवारीलाई त्यस लगत्तैको चोकमा नरोक्ने गरी सवारी व्यवस्थापन गर्न सहज हुनेछ । अहिले जडान गरिएका लाइटहरू एक चोकबाट अर्को चोकसँग कनेक्ट गरिएको छैन । जसले गर्दा एउटा चोक बाट छुटेको सवारी अर्को छोकमा गएर धेरै बेर रोकिनुपर्ने  र त्यसले जाम गर्ने गरेको छ ।

छुट्टै कन्ट्रोल युनिट स्थापना हुने

अब जडान गरिने लाइटहरूको व्यवस्थापनका लागि ट्राफिक प्रहरीको केन्द्रमा छुट्टै कन्ट्रोल युनिट स्थापना हुनेछ । यसका लागि सबै चोकहरुमा सीसी क्यामरा सवारी डिटेक्टर सेन्सरहरू पनि जडान गरिनेछन् । ट्राफिकको केन्द्रबाटै रातो, पहेँलो र हरियो लाइटहरू नियन्त्रण गरिनेछ । सीसी क्यामरा र सेन्सरले चोक–चोकको ट्राफिक व्यवस्थापन कन्ट्रोल युनिटमै बसेर लाइटमार्फत सम्हाल्नेछ । रातिका समयमा भने यसलाई अटोमेटिक सिस्टममा राखिनेछ ।

यसअघि प्रयोग गरिएका लाइटहरू जतिबेलामा पनि टाइमिङका आधारमा अटोमेटिक रूपमा चल्थे । तर, सवारी चापअनुसार त्यसलाई कन्ट्रोल गर्न नसक्दा त्यसको प्रभावकारी प्रयोग हुन सकेको थिएन ।

सवारी जाम समस्यालाई कम गर्ने

नयाँ प्रविधिको ट्राफिक लाइटको प्रयोगले अहिले हुने गरेको अस्तव्यस्त ट्राफिक जामलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । यसको प्रयोग भएपछि सवारीलाई आफ्नो बाटोमा ‘च्यानलाइज्ड’ गर्न र जथाभावी सवारी मोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने छ । यसले सवारीचालक र यात्रुहरूले ठाउँ–ठाउँमा भोग्नुपर्ने सवारी जामका समस्यालाई कम गर्ने विश्वास गरिएको छ भने बाटो क्रस गर्ने पैदल यात्रुहरुलाई पनि सहज हुने छ ।

लाइट जडान गर्ने कम्पनी छनौटको प्रक्रिया अन्तिम चरणमा

काठमाडौं उपत्यकामा आधुनिक ट्राफिक लाइट जोड्न कम्पनी छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका दीगो शहरी यातायात परियोजनाले टेण्डरको प्राविधिक मूल्यांकन गरेर रसुवा कन्सट्रक्शनलाई प्राविधिक रूपमा योग्य ठहराएको छ ।

अब यसको आर्थिक मूल्यांकन गरेर ट्राफिक लाइट जोड्ने प्रक्रिया अघि बढ्नेछ । कम्पनीको आर्थिक मूल्यांकन अबको एक सातापछि हुनेछ । आर्थिक मूल्यांकनमा कम्पनी सफल भए एक महिनाभित्रै सम्झौता भएर जडानको काम सुरु हुनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....