सोचेअनुरूपको परिणाम नआएपछि प्रकाशमान यसरी गर्जिए

काठमाडौं, जेठ २९ ।
नेपाली कांग्रेसका एक प्रभावशाली नेता एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमान सिंहले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले सोचेअनुरूपको परिणाम प्राप्त गर्न नसकेपछि पार्टीभित्र आन्तरिक किचलो देखिएकोतर्फ संकेत गरेका छन् ।
राजधानीमा आज आयोजित एक कार्यक्रम बोल्दै नेता सिंहले पार्टीभित्र रहेका नेता–कार्यकर्ताहरूको मूल्याङ्कन अनिवार्य रहेकोमा जोड दिँदै सबैले सबैलाई चिन्न आवश्यक रहेको बताएका छन् ।
पार्टीका शीर्ष नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पाैडेलतर्फ इङ्गित गर्दै उनले मुलुकको १० वटा नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले कल्पना नै गर्न नसकिने तवरले पराजय भोग्नु परेको कारणको समीक्षा गर्न आवश्यक रहेको बताउँदै पार्टीभित्रको अन्तरघातका कारण कांग्रेसका उम्मेदवारहरूले अधिकांश स्थानमा पराजय भोग्नुपरेको बताएका छन् ।
‘पार्टीभित्रका साथीहरूलाई चिन्नु पर्यो अब । हाम्रै मूल्याङ्कन गर्नुपर्छ । सही के हो ? सत्य के हो ? चिन्नु पर्छ’, उनले भने, ‘कांग्रेसभित्र सत्ताको राजनीतिका लागि बढी केन्द्रित भएको देखियो’, नेता सिंहले भने, ‘मूल्य र मान्यताभन्दा पनि सत्ताको राजनीतिमा केन्द्रित हुन थाल्यो । त्यसले संगठनमा र्हास हुँदै गइरहेको छ ।’
उनले यस्ता विकृतिलाई पार्टीभित्र कसरी निर्मूल पार्ने भन्ने विषय चिन्ताको विषय भएको बताए । ‘प्रतिपक्ष र एमालेसँग लड्ने क्षमता हामीसँग छ’, कांग्रेस नेता सिंहले भने, ‘पार्टीभित्र लड्न सकिँदैन । गार्हो भइसक्यो ।’
निर्वाचनका बेला रुखमा भोट नहाल्ने कांग्रेसी पनि रहेको बताएका उनले भने, ‘३६५ दिनमा कांग्रेस हुने । तर, भोट नहाल्ने । अरू निर्वाचन चिन्हमा भोट हालेको देखियो ।’
‘काठमाडौं महानगरपालिकामा मात्रै होइन १० वटा नगरको वडामा किन पराजित भयौँ रिभ्यु हुनुपर्छ । प्रत्येक क्रियाशील सदस्यको काम हेर्नु पर्छ’, उनले भने, ‘कांग्रेसले विश्वास गरेर हाम्रा प्रत्यासीहरूले टिकट पाउनु भयो । जितका लागि प्रयास गर्नुभयो ।’
काठमाडौंको मेयरमा नजिते पनि उपमेयरमा हरिप्रभा श्रेष्ठ खड्गीले जितेको बताएका नेता सिंहले भने, ‘राजुराज जोशीलाई पार्टीकोतर्फबाट विश्वास गरेर जिम्मेवारी दिइएको हो । असफल भए केही हुँदैन त्यसलाई शिक्षाका रूपमा लिनुपर्छ । राजनीतिमा जित हार हुन्छ । फेरी पनि निर्वाचनमा जित्न सकिन्छ । म पनि हारेर फेरी जितेको हुँ ।’
कांग्रेसभित्र आफ्नालाई मात्रै विशेष गरेर घर–परिवारकालाई अवसर दिने परम्पराको अन्त्य हुनुपर्ने नेता सिंहको भनाई थियो । ‘संघर्ष गर्दा अरूले गरिदिओस् भन्ने । अवसर लिँदा मैले मात्रै लिनुपर्छ भन्छन् । यो परम्परा अन्त्य गर्नु अनिवार्य भइसकेको छ ।’
प्रतिक्रिया