नेपाल बिदेशीहरूको क्रिडा स्थल बन्दै’ : प्रवक्ता देवकोटा

भक्तपुर, जेठ २९ ।
नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले सरकार र राजपाले दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएको छ ।
एक साक्षात्कार कार्यक्रममा बोल्दै देवकोटाले सरकार दोस्रो चरणको निर्वाचन सार्न लागी परेको र त्यसलाई थप मलजल गर्दै राजपा समेत लागी परेको भन्दै दुवैको उद्देश्य संविधानको स्विकार्यता नबढाउने र कार्यान्वयन नगर्ने उद्देश्य अनुरूप निर्वाचन नगर्ने र जनता र राष्ट्रलाई पिडा थप्ने खेलमा लागेको बताएका छन् ।
सत्ताका लागि लुछाचुँडी र पहाड छुट्याउन लागि परेकाहरूलाई सहयोग पुग्ने गरी दुई चरणमा निर्वाचन गरेको आरोप सरकारलाई लगाएका छन् । उनले प्रधानमन्त्री र सरकार निर्माणको प्रक्रियामा आउने राजपा स्थानिय तहको निर्वाचनमा नआउँदा आफैलाई घाटा पुग्ने भएकाले एजेण्डा बचाउँदै निर्वाचनमा गएर त्यसलाई पूर्णता दिनुपर्ने कुरामा जोड दिए ।
उनले सरकार र प्रतिपक्ष राष्ट्रको हितमा गरिने निर्णयमा नमिल्ने तथा आफूहरूलाई अकुत आम्दानी हुने कुराहरू जस्तै राष्ट्र बैंकमा रहेको अरबौं कालो धन र एनसिएलको कर लाभमा मिल्ने कुरामा सहमती गर्ने खेलमा लागेकै कारण सरकारले संविधान कार्यान्वयन भन्दा पनि सत्ता टिकाउने र आर्थिक लाभ लिने खेलमा लागेको र उक्त आर्थिक लाभको खेलमा एमालेको पनि सहभागिता रहने टिप्पणी गरेका छन् ।
उनले बहुदलीय लोकतन्त्रको अभ्यास भन्दा पनि केही दलहरूको अभ्यास भइरहेको भन्दै १७ सालमा महेन्द्रले दलमाथी प्रतिबन्ध लगाए जस्तै हाल प्रचण्ड सरकारले तीन दलिय सिन्डिकेट लागू गरेका कारण लोकतन्त्र सकिने र एक दलिय सिन्डिकेट देखा पर्ने बताएका छन् ।
उनले भरतपुर नगरपालिकाको विषयलाई जोड्दै माओवादीले नजित्ने अवस्था आएपछि आफ्नै आधिकारीक नेतृत्वबाट माओवादी केन्द्रले मतपत्र च्यात्न लगाएको भन्दै सत्तामा रहेका पार्टीले शक्ति र अर्थको सक्दो प्रयोग गरे ता पनि पहिलो चरणको निर्वाचनमा उनीहरूको नतिजा खस्किएको कुरा बताए ।
नयाँ शक्ति नेपाल एक वर्ष नुपग्दै ७० बर्ष पुरानो पार्टीहरूसँगको प्रतिस्पर्धामा उत्रिएको र चौंथो स्थान हासिल गर्न पुगेको भन्दै देवकोटाले चुनाव चिन्ह नपाउँदा र समाजबादी फोरमसँगको आफ्नो नीति मिलेकै कारण एकता हुने उनले जनाएको छ ।
उनले हाल नेपाल सबैभन्दा कठिन मोडमा रहेको र बिदेशीहरूको क्रिडा स्थल बन्दै गएकाले एकथरि दक्षिण र अर्कोथरी उत्तरतर्फको पछि लाग्ने खेललाई बन्द गरी नेपालको सार्वभौमिकताको ख्याल गरि अगाडी बढ्न सत्ताधारी दलहरूलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया