आम हडतालको दोस्रो दिन पनि तराई जिल्लाको जनजीवन प्रभावित

वीरगंज, जेठ ३१ ।
सरकार र राष्ट्रिय जनता पार्टीबीचको सहमति नमिलेपछि सरकारले आफ्नो इच्छाले स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै राजपाले आम हडतालको आह्वान गरेको दोस्रो दिन पनि बिहानैदेखि प्रदर्शन जारी छ ।
राजपाले माग गरेको स्थानीय तहको संख्या थप, संविधान संशोधन, मुद्धा फिर्ता लगायतका विषयमा भएका सहमति कार्यान्वयन नगरि सरकारले चुनाव गर्न खोजेको भन्दै मंगलबारदेखि असार २ गते सम्मका लागि मधेश, थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान गरेको हो ।
आन्दोलनकारीहरूको प्रदर्शनका कारण वीरगंज बजार आज दोस्रो दिन पनि बन्द रहेको छ । सामुदायिक तथा निजी विद्यालय र कलेजहरू पनि बन्द छ । वीरगन्जमा राजपाका कार्यकर्ताले लामो दुरीका भाडाका सवारी साधनहरू चल्न दिएका छैनन् तर मोटरसाइकल, इरिक्सा, रिक्सा र टयाम्पुहरू भने निर्वाध रूपमा चलेका छन् ।
वीरगंजको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक, बाइपासको नगवा, बाराको कलैया, परवानीपुर, जितुर लगायतका स्थानमा आज बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया