सन् १९५० को सन्धीलाई लिएर भारतले अाज नेपाललाई जवाफ दिँदै

काठमाडौं, चैत्र २४ ।
राजधानीमा जारी रहेको नेपाल र भारतको समग्र सम्बन्ध अध्ययन गर्न गठिन प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को तेश्रो बैठकअन्तर्गत आज नेपाली प्रस्तावमा भारतले जवाफ दिने भएको छ ।
बैठकमा नेपालले हिजो अघि सारेको प्रस्तावका विषयमा छलफल केन्द्रित हुनेछ । नेपालले तीन वटा विषयमा औपचारिक प्रस्ताव गरेको छ । हिजोदेखि सुरु भएको बैठकमा सन् १९५० को सन्धी, व्यापार तथा पारबहन सन्धी र जलश्रोतसम्बन्धी सन्धी तथा सम्झौतामा नेपालले चाहेको परिवर्तन पेश भएको हो ।
नेपालकातर्फबाट समूहका सदस्य नीलाम्बर आचार्यले बैठकमा सन् १९५० को सन्धी नेपालले महशुस गरेको अप्ठ्यारो, डा. राजन भट्टराईले व्यापार तथा पारबहन सन्धीका विषयमा नेपालको चासो तथा सूर्यनाथ उपाध्यायले जलश्रोतमा दुई देशबीच भएको सन्धीको समीक्षात्मक धारणा राखेका छन् ।
यस विषयमा आज भारतकातर्फबाट ईपीजी सदस्यले धारणा राख्ने नेपालका सदस्य नीलाम्बर आचार्यले जानकारी दिए । दोश्रो बैठकमा नेपालले सन् १९५० मा हस्ताक्षरित ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धी’ पुनरावलोकनका लागि प्रस्ताव राखेको थियो ।
बैठकमा नेपालकातर्फबाट डा. भेषबहादुर थापा, राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय तथा भारतबाट भगतसिंह कोस्यारी, जयन्त प्रसाद, डा. बिसी उप्रेती र महेन्द्र पी. लामा सहभागी छन् । नेपालले १९५० को सन्धीको धारा २, ५, ६ र ७ समयसापेक्ष नरहेको भन्दै अद्यावधिक गर्नुपर्ने प्रस्ताव राखेको छ । २१ औँ शताब्दी अनुकूल सन्धी परिमार्जन गर्नुपर्ने धारणा नेपालको रहेको छ । सन् १९५० जुलाई ३१ मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धी भएको थियो । सन्धीमा नेपालकातर्फबाट तत्कालीन श्री ३ महाराज मोहनशमशेर र भारतकातर्फबाट नेपालका लागि तत्कालीन राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंहले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया