धौलागिरी गाउँपालिकाको विवाद तीन बुँदेमा आएर सहमति

म्याग्दी, चैत्र २६ ।
धौलागिरी गाउँपालिका केन्द्रको विषयमा उत्पन्न भएको विवाद शुक्रबार तीन बुँदे सहमतिमा आएर टुङ्गिएको छ । राजपत्रमा उल्लेख भएअनुसार तत्काललाई गाउँपालिकाको केन्द्र मुनाबाट सञ्चालन गर्ने र जनप्रतिनिधि निर्वाचित भएपछि सर्वपक्षीय भेला गरी समृद्ध धौलागिरीको खाका कोर्ने विषयमा छलफलसँगै सर्वसहमतिमा उपर्युक्त ठाउँमा केन्द्र कायम गर्ने सहमति भएको छ ।
यसैगरी, वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाले सबै वडामा घुम्ती सेवा दिने र निर्वाचन अधिकृतको कार्यालय मुनाबाहेकको ठाउँमा राख्न सम्भव भए नभएका विषयमा अध्ययन गर्न पहल गर्ने सहमति भएको छ ।
जिल्ला समन्वय समितिका पहलमा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँ, राजनीतिक दलका जिल्लास्तरीय, ताकम र मुनाका प्रतिनिधिको उपस्थितिमा दुई दिनसम्म भएको छलफलपछि सहमति कायम भएको हो । केन्द्रको विवाद समाधान भएपछि गाउँपालिका कार्यान्वयन र निर्वाचनको सहज वातावरण बनेको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताए ।
तत्काललाई अस्थायी केन्द्रबाटै गाउँपालिकाको कार्य सञ्चालन हुने र पछि अल्पमत, बहुमत नभनीकन सर्वसहमतिमा उपर्युक्त ठाउँमा केन्द्र राख्ने गरी समझदारी बनेको स्थानीय विकास अधिकारी गिरीले जानकारी दिए ।
स्थानीय तह पुनःसंरचनाका लागि गठित तत्कालीन जिल्ला प्राविधिक सहयोग समितिले धौलागिरी गाउँपालिकाको केन्द्र ताकम–मुना सिफारिस गरेको थियो ।
राज्य पुनःसंरचना आयोगको सिफारिसमा साबिक मुना गाविसको कार्यालयलाई गाउँपालिकाको अस्थायी केन्द्र कायम गरिएपछि ताकमका बासिन्दाले पूर्वाधारको उपलब्धता, भौगोलिक सुगमता, बस्ती विकासको सम्भावना, विपद्को जोखिम नभएको लगायत कारणले ताकममा केन्द्र बनाउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए ।
सहमतिपछि यही चैत्र २९ गते मुनामा औपचारिक कार्यक्रम गरेर गाउँपालिकाको केन्द्र उद्घाटन गर्ने तयारी भएको कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले बताए । साबिकका गुर्जा, लुलाङ, मुदी, मुना, ताकम, मराङ र मल्कवाङ गाविस समावेश भएको धौलागिरी गाउँपालिकामा पर्यटन, कृषि, जलविद्युत, पशुपालन र जडीबुटीमा प्रचुर सम्भावना छ ।
प्रतिक्रिया