कञ्चनपुर घटना : निलम्बित एसपी बिष्ट र छोराको डीएनए परीक्षण पनि सुरु

काठमाडाैं, भाद्र २८ ।
१३ वर्षीया बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएपछि उग्ररूप लिएकाे कञ्चनपुर घटना महिना दिन बितिसक्दा पनि त्यसकाे निश्पक्ष छानबिन अहिलेसम्म हुन सकेकाे छैन । पन्त हत्या प्रकरणका दोषी पत्ता लगाउन निलम्बित भएका डिल्ली बिष्टसहित उनका छोरा र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगर–प्रमुख सुरेन्द्र बिष्टका भतिजाको डीएनए परीक्षण सुरु गरिएको छ ।
हत्या प्रकरणको दोषी अहिलेसम्म पत्ता नलागेपछि एसपी बिष्टसहित उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगर–प्रमुख सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डीएनए परीक्षण सुरु गरिएको हो ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका विधि विज्ञान विज्ञ डा. हरिहर वस्तीसहितको टोलीले एसपी बिष्टसहितको डीएनए परीक्षण सुरु गरेको हो । यसअघि, प्रहरीले मुख्य अभियुक्त रहेको भन्दै दिलिप सिंह बिष्टलाई पक्राउ गरी अनुसन्धान गरेको थियो तर, उनको डीएनए र निर्मलाको शरीरमा भेटिएको डीएनए नमिलेपछि दिलिपलाई प्रहरीले रिहा गरेको थियो ।
स्थानीयबासीले निलम्बित बिष्टको काम शंकास्पद रहेको भन्दै उनी र अन्य दुई जनामाथि अनुसन्धान सुरु गर्नुपर्ने दवाब दिँदै आएका थिए । घटना भएको दुर्इ महिना पुग्दा पनि हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरीमाथि नै स्थानीयबासीले शंका व्यक्त गरेका थिए ।
अर्काेतर्फ निर्मलाका अाफन्त न्याय माग्दै काठमाडाैं अाइपुगेका छन् । कञ्चनपुरबाट काठमाडाैंसम्म अाएर पनि न्याय पाउनेमा उनीहरू अझै निर्धक्क भने छैन । सरकार र नेपाल प्रहरीले सत्यतथ्य छानबिन गरी कञ्चनपुरकी निर्मला पन्तलार्इ मात्र हाेइन अाम नेपाली जनताकाे मन थाम्न सक्ने गरी सही न्याय दिलाउन सरकार १०० प्रतिशत सफल हाेला ? याे प्रश्न वाचक चिन्ह तबसम्म रहन्छ जबसम्म घटनाकाे सही छानबिन गर्न गठित समितिले चित्तबुझ्दाे निश्कर्ष निक्लिँदैन ।
प्रतिक्रिया