काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहर, सतर्कता अपनाउन अनुराेध

काठमाडाैं, चैत २४ ।
काठमाडौं उपत्यकामा गएकाे एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आज आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोश्राे प्रदूषित शहरमा रहेको छ ।
अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात् औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांकअनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ । वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा रहेकाे छ । जहाँ एक्यूआई २९० छ । यस्तै, तेश्राे स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ ।
लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क शून्यदेखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया