एमाले अध्यक्ष ओलीले साथ दिन नसकेपछि सभापति देउवाले लगाए यस्तो आरोप

धनगढी, चैत्र २८ ।
व्यवस्थापिका संसद्मा प्रमुख विपक्षी दलको रूपमा रहेको नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले वर्तमान सरकारमा सामेल नभई उखान टुक्कामार्फत व्यंग्य हान्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ओलीतर्फ लक्षित गर्दै व्यंग्य हान्दै भनेका छन्, ‘उखान टुक्का र मधेश विरोधी भावनाले देश बन्दैन ।’ सभापति देउवाले बिनाकारण एमालेले मधेशी जनतालाई चिढाएको आरोपसमेत लगाएका छन् ।
‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नारासहित पार्टीले प्रदेश नम्बर ७ अन्तर्गत पर्ने कैलालीको अत्तरियामा आयोजना गरेको चुनावी आमसभाको उद्घाटन गर्दै सभापति देउवाले देशका सबै जातजाति वर्ग क्षेत्रका जनताबीचको एकताले मात्रै राष्ट्रिय एकता बलियो हुनेमा जोडसमेत दिए ।
‘बिपी कोइरालाको मेलमिलापको नीतिले मात्र देशमा १० वर्षमा समृद्धि छाउँछ,’ सभापति देउवाले भने, ‘पहाड, मधेश, जनजाति विरोधी भावनाले राष्ट्रिय एकता हुँदैन ।’ एमाले जस्तो जिम्मेवार पार्टी विभिन्न वर्गका जनताकाबीचमा द्वन्द्व सिर्जना गर्ने षड्यन्त्रमा लागेको उनको आरोप थियो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा दशकौँदेखि भएका आन्दोलनले राजनीतिक व्यवस्थाको छिनोफानो गरिसकेकाले अब कृषि, पर्यटन, ऊर्जाको अधिकतम उपयोग गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिने बताए ।
नेता पौडेलले १० वर्षमा देशलाई समृद्धिको दिशामा लैजाने काममा कांग्रेस लागेको बताए । कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले गरिब र धनीबीच रहेको दूरी कम गर्नु नै कांग्रेसको समाजवाद रहेको उल्लेख गर्दै कम्युनिष्ट विचार संसारबाट समाप्त भइसकेको बताए ।
प्रतिक्रिया