संविधान संशोधन कुबेलाको सहनाई : नेता खनाल

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार १२:०६


ललितपुर, चैत्र २८ ।
सरकारले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन लाग्नुपर्नेमा संविधान संशोधनको रटान लाउनु कुबेलाको सहनाई भएको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले बताएका छन् । नेकपा एमाले ललितपुर महानगरपालिका २३ नं वडा कमिटिले आयोजना गरेको नव वर्ष शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश समारोहमा बोल्दै नेता खनालले सरकारलाई खुट्टा नकमाई निर्वाचनको वातावरण बनाउन आग्रह गरेको छ ।

बरिष्ठ नेता खनालले नेकपा एमालेको एजेण्डाका पक्षमा देश एक ढिक्का भईरहेको बेला पार्टीभित्र केही तत्वहरूले एकता भत्काउन लागेको भन्दै एकताबद्ध बनाएर निर्वाचनको कमाण्ड सम्हाल्न कार्यकर्ता पंक्तिलाई सचेत गराएका थिए । एमालेको एजेण्डा र एमालेको पक्षमा उत्रिएको जनलहरको सामना गर्न अन्य दललाई चेतावनी दिँदै नेता खनालले निर्वाचन सार्ने वा नगर्ने भन्दै षड्यन्त्रमा नउत्रन अन्य दललाई आग्रह गरे ।

काठमाडौं महानगरपालिकादेखि साना–साना नगरपालिकासम्म पनि विकासका काममा अव्यवस्थितता र भद्रगोल परिस्थिति सिर्जना भएको जिम्मेवार स्थानीय तहको निर्वाचन नगराउने पक्ष भएको बताउँदै खनालले एमालेको नेतृत्वमा भएका सरकारले जनताको चाहनामा आधारित भएर गरेको विकासको फेहरिस्त जनताले पढिरहेको बताए । पार्टी केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज सुशिला नेपालले महिला, ज्येष्ठ नागरिक र समाजबाट बहिष्करण र किनारामा परेको समुदायको सच्चा पार्टीको रूपमा नेकपा एमाले स्थापित भएकाले कुनै दलको षड्यन्त्रबाट पनि जनतामा बसेको एमालेको छाप नमेटिने दृढता व्यक्त गरेका थिए ।

ललितपुर महानगरपालिकाको केयरको रूपमा उम्मेदवारको चर्चामा रहेका जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले एमालेले विगतमा गरेका जनपक्षीय कामहरू नै अबको स्थानीय तहको निर्वाचन जित्ने आधार भएको बताए । वडा कमिटि अध्यक्ष रामशरण दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय अगुवा महिला नेतृ मधु श्रेष्ठ ठकुरी सहित एक सय ५० स्थानीय महिला तथा युवाहरूले नेकपा एमाले प्रवेश गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....