आज चैत्र शुक्ल पूर्णिमा, काठमाडौंको बालाजुमा बाईसधारा मेला मनाइँदै

काठमाडौं, चैत्र २९ ।
आज चैत्र शुक्ल पूर्णिमा । आजको दिन बालाजुस्थित बाईसधारामा ‘बाईसधारा मेला’ मनाइँदै छ भने दर्शनार्थीहरूको बिहानैदेखि ठूलो घुँइचोसमेत लागेको छ ।
सो मेला भर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरू त्यहाँ सहभागी भएका छन् । बालाजु पार्क क्षेत्रमा तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको बाईसधारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ । सो पवित्र पानीले आजको दिन स्नान गरेमा कुनै पनि रोग व्याधी नलाग्ने जनविश्वास रहेको पाइन्छ ।
बाईसधारा मेला व्यवस्थापन मूल समारोह समितिले सो स्थानमा स्नान गर्न आउने भक्तजनको सहजताका लागि हरेक वर्ष झैँ यो वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर, स्वयम् सेवक परिचालन तथा सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको छ ।
काठमाडौंमा बढ्दै गरेको जनघनत्व तथा सो आसपास क्षेत्रमा पानीको अभाव बढ्दै गएपछि अहिले बाईसधारामध्ये एक धाराबाट मात्र पानी आउने गरेको छ । तर, आज मेलाको दिन भने सबै धारबाट पानी आउने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
सत्ययुगमा ९१ कल्प वर्षअघि विपस्सी बुद्ध बन्धुमतीनगरबाट नागदहमा आएर कमलको फूल रोपेको जनविश्वास रहेको छ । त्यसैको सम्झनामा आजको दिन भक्तजनहरूले बाईसधारामा स्नान गरी जामाचोस्थित प्राचीन बौद्ध चैत्यमा पानी लगेर चढाउने परम्परासमेत रहेको छ ।
प्रतिक्रिया