सत्तारुढ दल राप्रपा पुनः आन्दोलनमा उत्रिँदै, निर्वाचन आयोगको प्रतिलिपि जलाउने निर्णय

काठमाडौं, बैशाख १ ।
सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुनः आन्दोलनमा उत्रिने भएको छ । सो दलका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगको विरोधमा आन्दोलनको घोषणा गरेका हुन् ।
सो पार्टीले पार्टीको विधानबाट ‘हिन्दूराष्ट्र र राजसंस्था’ हटाउने निर्णय निर्वाचन आयोगले पुनःविचार नगरेको विरोधमा निर्वाचन आयोगको प्रतिलिपि जलाउने निर्णयसमेत गरेको छ ।
आज पदाधिकारीहरूको बैठकले आयोगललाई यसअघि दिएको ज्ञापन पत्रको सम्बन्धमा स्पष्ट जवाफ नआएकोले निर्वाचन आयोगलाई पुनः स्मरण पत्र दिने र बैशाख ५ गते सात सय ४४ वटै स्थानीय तहमा जुलुससहित निर्वाचन आयोगको निर्णयको प्रतिलिपि जलाउने निर्णय गरेको हो ।
बैशाख ८ गते ७२ जिल्लामा विरोध सभा गर्ने र जिल्ला निर्वाचन आयोग अगाडि एक घण्टा धर्ना दिने र काठमाडौं उपत्यकामा केन्द्रीय निर्वाचन आयोग अगाडि शक्ति प्रदर्शनसहित धर्ना दिने निर्णय पनि गरेको छ ।
आजको पदाधिकारी बैठकले आगामी स्थानीय तहको निर्वाचनको लागि ‘राप्रपाको प्रतिबद्धता – सकारात्मक परिवर्तन’ भन्ने नारा समेत तय गरिएको छ । राप्रपाका अध्यक्ष कमल थापा स्थानीय विकासमन्त्री हुँदासमेत आयोगको निर्णय जलाउने बैठकले निर्णय गरेको छ ।
आफ्नो विधानबाट ‘हिन्दूराष्ट्र र राजसंस्था’ हटाएको विरोधमा राप्रपाले यसअघि पनि आयोगमा धर्ना दिने क्रममा भएको झडपमा राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबरा, कोमल वलीलगायत थुप्रै नेता कार्यकर्ता घाइते भएका थिए ।
प्रतिक्रिया