राष्ट्रपति भारत प्रस्थान, फर्कने दिन सार्वजनिक बिदा कटौती

काठमाडौं, बैशाख ४ ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गरेको छ ।
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवं संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए ।
राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायत ३० सदस्यीय भ्रमण टोलीको सहभागिता रहेको छ ।
राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो । सो राजकीय भ्रमणको पहिलो दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
बिदाको चौतर्फी विरोध भएपछि सरकारले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको सार्वजनिक बिदा कटौती गरेको छ । गृह स्रोतकाअनुसार चौतर्फी विरोधका बाबजुत आजको बिदा यथावत रहे पनि आगामी शुक्रबारको बिदा फिर्ता लिने निर्णय गरेको छ ।
यसअघि आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारी भारत जाने दिन बैशाख ४ र स्वदेश फर्कने दिन बैशाख ८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
आजदेखि भारतको राजकीय भ्रमण गर्न लागेकी राष्ट्रपति भण्डारीले पनि आफ्नो भ्रमणका बेला बिदा दिनु नपर्ने मनसाय व्यक्त गरेकी थिइन् ।
प्रतिक्रिया