भलिबल प्रतियोगितामा आर्मी र पुलिसको प्रतिस्पर्धा

काठमाडौं, बैशाख ४ ।
आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल आर्मी उपाधि नजिक पुगेको छ । आइतबार आर्मीले साबिक बिजेता हेल्पनेपाल माथी ३–२ को रोमाञ्चक जित हात पार्दै फाईनलमा चिर–प्रतिद्धन्दी नेपाल पुलिससँग भेट पक्का गरेको छ ।
आर्मीले पहिलो सेटमा २०–२३ ले पछि परेको अवस्थालाई सुधार गरेको थियो । ४ भारतीय खेलाडी सम्मलित हेल्प नेपाललाई २३ अंकमा रोक्दै लगतार ५ अंक जोडे पछि आर्मीले २५–२३ ले सेट जितेको थियो ।
दोस्रो सेट भने हेल्प नेपालले २५–१९ ले जित्दै खेलमा फर्कने संकेत दिए पनि तेस्रो सेट आर्मीले २५–२१ आफ्नो पक्षमा पारेको थियो । चौथो सेट हेल्प नेपालले २५–२० ले जितेको हेल्प नेपाललाई पाचौ सेटमा आर्मीले १७–१५ ले हरायो ।
जारी लिगमा नेपाल पुलिस अपराजित हुँदै फाईनल प्रबेश गर्दा आर्मी पुलिससँग मात्र पराजित भएको थियो ।
महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्युडायमण्ड एकेडेमी फाइनल यात्रा तय गरेका छन् । दुबै टिमले अपराजित रहँदै ४ खेलबाट समान १२ अंक जोडेका छन् । न्युडायमण्ड र एपीएफले एक खेल अगाबै उपाधि भिडन्त पक्का गरेका हुन् ।
लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो । लिगको दुबै तर्फको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले पाँच हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
प्रतिक्रिया