आक्रोशित बनेको राप्रपाको आन्दोलन बीचमै स्थगित, के थियो कारण ?

काठमाडौं, बैशाख ७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सबै आन्दोलनको कार्यक्रम अन्त्यमा आएर स्थगित गरेको छ । वातावरण चुनावमय बन्दै गएसँगै राप्रपाले पनि आफ्ना मागहरूलाई भन्दा पनि निर्वाचनलाई बढी ध्यान दिँदै आन्दोलनको कार्यक्रम स्थगित भएको घोषणा गरेको हो ।
पार्टीको विधानको प्रस्तावना र उद्देश्यमा रहेको शब्द निर्वाचन आयोगले हटाएको भन्दै आक्रोशित हुँदै आन्दोलनमा उत्रिएको राप्रपा आफ्नो अडानबाट अन्त्यमा आएर पछि हटेको हो ।
उसले आज एक विज्ञप्ति नै जारी गरी हालको लागि निर्वाचन नै मुख्य एजेण्डा भएकाले अहिले यी मागहरूलाई थाती राख्ने निर्णय गरेको बताएको छ ।
स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको विषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्यसमेत दृष्टिगत गर्दै पार्टीले सञ्चालन गर्ने संघर्षको कार्यक्रम अहिलेलाई स्थगित भएको प्रवक्ता सुशीलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यद्यपि, पार्टीको विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रूपमा नसच्याइएसम्म राप्रपाको विरोधका कार्यक्रम भने जारी नै रहने छ र आगामी चुनावमा समेत यो विषयलाई सशक्त ढङ्गबाट उठाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया