महिला अधिकार र सशक्तीकरणका लागि समाजमा जागरुकता र सामाजिक चेतनाको आवश्यकता : राष्ट्रपति भण्डारी

काठमाडौं, बैशाख ८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार र सशक्तीकरणका लागि समाजमा जागरुकता र सामाजिक चेतना जागृत हुनुपर्नेमा जोड दिएकी छन् ।
मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले भ्रमणको चौथो दिन बिहीबार उडिसा राज्यको राजधानी भुवनेश्वरमा मिसन शक्ति नामक संस्थाद्वारा आयोजित महिला सशक्तीकरण विषयको समारोहलाई सम्बोधन गर्दै महिला सशक्तीकरणका लागि समाजमा समष्टिगत विकासका वस्तुगत आधार निर्माण गर्नाका साथै अवसरको सिर्जना र बहुक्षेत्रीय दृष्टिकोण हुनुपर्ने बताइन् ।
उनले उडिसा सरकारको पहलमा मिसन महिला सशक्तीकरण कार्यक्रमले महिला तथा बालबालिकाको ओसारपसार नियन्त्रण गर्ने, पीडितको उद्दार सहज गर्ने, पुनःस्थापना सेवा प्रदान गर्ने तथा सीमापारका पीडितलाई स्वदेश फर्काउने लक्ष्यसहित काम अगाडि बढाएको आफूले जानकारी पाउँदा खुसी लागेको समेत बताएकी छन् ।
उनले महिला अधिकार तथा सशक्तीकरणको सुनिश्चितता नगरेसम्म महिला तथा बालबालिकाको अवैध ओसारपसार जस्ता सामाजिक दुष्कर्म जारी रहने भएकाले यस्ता गलत खालका गतिविधिले हाम्रो परिवार, समाज र राष्ट्रले कहिल्यै प्रगति र समृद्धि हासिल गर्न नसक्ने बताइन् । उनले भनिन्, “महिलालाई सक्षम बनाउन हामीले निरन्तर पाइला चाल्नुपर्छ जसका लागि राष्ट्रिय जीवनका हरेक क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व हुनुपर्छ ।”
राष्ट्रपति भण्डारीले दक्षिण एशियामा अझै पनि आर्थिक, राजनीतिक, प्रशासनिक र सामाजिक संरचनामा महिलाको प्रतिनिधित्व न्यून रहेको उल्लेख गर्दै भनिन्, “मानवको अवैध ओसारपसार, बलात्कार र भ्रुण हत्या जस्ता अपराधले शान्ति र सभ्यतालाई चुनौती दिएका छन् ।”
राष्ट्रपति भण्डारीले नेपालको संविधानले समानुपातिक समावेशितामा आधारित प्रतिनिधिमूलक शासन व्यवस्था अपनाएर सीमान्तकृत तथा पिछडिएका समुदायको सशक्तीकरणका लागि विशेष व्यवस्था गरेको समेत प्रष्ट पारेकी छन् ।
प्रतिक्रिया